Loading

कर्णालीका दुई जिल्लामा ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सम्पन्न 

कर्णालीका दुई जिल्लामा ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सम्पन्न 

कालीकाेट १३ जेष्ठ। कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतको आयोजनामा सञ्चालित ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रमको दोस्रो चरण कालीकोट र जुम्लामा सम्पन्न भएको छ। प्रहरी कर्मचारीहरूलाई लक्षित गरी स्वास्थ्य सचेतना, परामर्श र परीक्षण सेवा प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

मिति २०८३ जेठ १० गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा र ११ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यक्रम सम्पन्न भएको छ। कालीकोटमा प्रहरी नायव उपरीक्षक (डिएसपी) हिम बहादुर खत्रीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ११० जना प्रहरी कर्मचारी, ५ जना पूर्व प्रहरी, ७ जना प्रहरी परिवार र ४ जना सर्वसाधारण गरी १२६ जनाले सेवा लिएका छन्।

त्यसैगरी, जेठ ११ गते जुम्लामा आयोजित कार्यक्रममा डिएसपी रविन बाबु रेग्मीको प्रमुख आतिथ्यमा १०८ जना प्रहरी, १३ जना पूर्व प्रहरी र १४ जना सर्वसाधारण गरी जम्मा १३५ जना लाभान्वित भएका छन्।

कार्यक्रममा अस्पताल प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा. श्याम कृष्ण लौडारीले प्रहरीको व्यस्त दैनिकी, स्वस्थकर जीवनयापन, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन र प्राथमिक उपचारका विषयमा प्रशिक्षण दिनुभएको थियो। साथै, उच्च हिमाली क्षेत्रमा खटिने प्रहरीहरूलाई हुन सक्ने ‘लेक लाग्ने’ समस्या, ‘हिउँले खाने’ जोखिम तथा लागुऔषध दुर्व्यसनको असरबारे समेत डा. लौडारीले सचेत गराउनुभएको थियो।

कार्यक्रमको क्रममा प्रहरी कर्मचारीहरूको ‘बडी मास इन्डेक्स’ (BMI) समेत जाँच गरिएको थियो। आफ्नो कार्यस्थलमै दक्ष चिकित्सकबाट स्वास्थ्य परामर्श र जाँच गर्न पाउँदा प्रहरी कर्मचारीहरू उत्साहित देखिएका छन्।

प्रदेश प्रहरी अस्पतालले अघि सारेको यस कार्यक्रमले दुर्गम र कठिन भौगोलिक अवस्थामा खटिने प्रहरी कर्मचारीको स्वास्थ्य अवस्था सुधार्न र कार्यसम्पादनमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार