Loading

रास्कोट नगरपालिकामा विद्यालयका प्रधानाध्यापक र IT शिक्षकका लागि ३ दिने तालिम सुरु

रास्कोट नगरपालिकामा विद्यालयका प्रधानाध्यापक र IT शिक्षकका लागि ३ दिने तालिम सुरु

कालीकाेट ८ जेष्ठ । रास्कोट नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक र प्रशासनिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ एक विशेष पहल थालेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा विद्यालयका प्रधानाध्यापक र सूचना प्रविधि (IT) फोकल शिक्षकहरूलाई लक्षित गरी तीन दिने तालिम सञ्चालन गरिएको हो।

विद्यालय व्यवस्थापन सूचना प्रणाली (IEMIS) र सूचना प्रविधिको पछिल्लो प्रयोगका बारेमा प्रधानाध्यापक र शिक्षकहरूलाई दक्ष बनाउने ध्येयले यो कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश अधिकारीले बताउनु भयाे। तालिममा सहभागीहरूलाई विद्यालय व्यवस्थापन सूचना प्रणाली (IEMIS), डिजिटल तथ्यांक व्यवस्थापन, प्रविधिमैत्री शिक्षण सिकाइ र विद्यालय प्रशासनलाई कसरी थप चुस्त र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन सहजीकरण गरिनेछ।

शिक्षा, युवा तथा खेलकूद शाखाका अनुसार, यो तालिमले विद्यालयका दैनिक प्रशासनिक कार्यहरूमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ। सूचना प्रविधिको प्रयोगमार्फत विद्यार्थीहरूको विवरण व्यवस्थापन, शिक्षकहरूको अभिलेख राख्ने प्रक्रिया, शैक्षिक योजना निर्माण र प्रतिवेदन तयार गर्ने प्रणालीलाई अबका दिनमा थप सहज, भरपर्दो र प्रभावकारी बनाउन सकिनेछ।

तालिमले विद्यालयका नेतृत्वकर्ता र प्रविधि विज्ञ शिक्षकहरूलाई आफ्नो भूमिकामा अझ निपूर्ण बनाउँदै अन्ततः सामुदायिक विद्यालयहरूको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिएकाे नगर प्रमुख धर्मराज शाहीले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार