कालीकोट ६ जेष्ठ । सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र चुस्त यातायात व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरेबापत जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक प्रकाश बहादुर शाही वैशाख महिनाको सर्वोत्कृष्ट ट्राफिक प्रहरी घोषित हुनुभएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतको स्वीकृत “महिनाको सर्वोत्कृष्ट ट्राफिक प्रहरी छनौट मार्गदर्शन–२०८२” बमोजिम शाहीलाई वि.सं. २०८३ साल वैशाख महिनाको ‘‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’’ (BEST TRAFFIC POLICE OF THE MONTH) घोषणा गरिएको हो।
प्रहरी नायव निरीक्षक शाहीले विभागको मूल्य मान्यता र निर्देशनको अक्षरशः पालना गर्दै व्यावसायिक, इमानदार र अनुशासित भई उच्च मनोबलका साथ जिम्मेवारी निभाएको कार्यालयले जनाएको छ। उहाँलाई यो उपाधि प्रदान गरिनुका मुख्य आधारहरू यस प्रकार छन्:
सरोकारवालासँग समन्वय र सचेतना: जुम्लाको बढ्दो सवारी दुर्घटना रोकथामका लागि स्थानीय सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी राजमार्गका विभिन्न सडक खण्डहरूमा ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत चेतनामूलक बोर्डहरू र दुर्घटनाको बढी जोखिम रहेका ठाउँहरूमा ‘ब्ल्याक स्पट’ (BLACK SPOT) बोर्डहरू जडान गर्न प्रभावकारी नेतृत्व प्रदान गरेको।
सवारी जाँच र कारबाहीमा कडाइ: सुरक्षित र अनुशासित यातायात प्रणाली विकास गर्न सवारी दर्ता तथा आवश्यक कागजातहरूको नियमित चेकजाँच कार्यलाई तीव्र बनाएको।
सरकारी सवारीको दुरुपयोगमा रोक: बिना हेलमेट, सिट बेल्ट र सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना गाडी कुदाउनेहरूमाथि कडा निगरानी राख्नुका साथै सार्वजनिक बिदाको दिन बिना पास चल्ने सरकारी सवारी साधनहरूको दुरुपयोग रोक्न विशेष चेकिङ अभियान चलाई कारबाहीको दायरामा ल्याएको।
लक्षित सचेतना कार्यक्रम: चालक, सह-चालक, विद्यार्थी, पैदल यात्री तथा आम सर्वसाधारणलाई लक्षित गरी नियमित रूपमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुका साथै उपयोगी सचेतनामूलक सामग्रीहरू निर्माण गरेको।
दिएको जिम्मेवारीलाई कुनै पनि त्रुटि बिना उत्कृष्ट ढङ्गले सम्पादन गरी आम नागरिकमा ट्राफिक प्रहरीको छवि उच्च बनाएको भन्दै माथिल्लो निकायले शाहीको कार्यको उच्च प्रशंसा गरेको छ।
पहाडी र हिमाली राजमार्गहरूमा ट्राफिक नियमको पालना गराउनु निकै चुनौतीपूर्ण मानिने सन्दर्भमा जुम्ला ट्राफिक प्रमुख शाहीले प्रदर्शन गरेको यो कार्यकुशलताले मातहतका अन्य प्रहरी कर्मचारीहरूलाई समेत थप जिम्मेवार, कर्तव्यनिष्ठ र उत्प्रेरित भई सडकमा खटिन ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।