Loading

प्रदेश अस्पताल सुर्खेतमा नयाँ ओपीडी भवन बन्ने: मुख्यमन्त्री कँडेलद्वारा शिलान्यास

प्रदेश अस्पताल सुर्खेतमा नयाँ ओपीडी भवन बन्ने: मुख्यमन्त्री कँडेलद्वारा शिलान्यास

सुर्खेत २९ बैसाख। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतको सेवा विस्तारका लागि नयाँ ओपीडी भवनको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कँडेलले एक विशेष समारोहका बीच उक्त भवनको शिलान्यास गर्नुभएको हो।

भवन शिलान्यास कार्यक्रममा सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको समेत विशेष उपस्थिति रहेको थियो। अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि भौतिक पूर्वाधार थप गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ यो नयाँ भवन निर्माण गर्न लागिएको हो।

नयाँ ओपीडी भवन निर्माणका लागि सुरुमा २९ करोड ९८ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। तर, बोलपत्र प्रक्रियामार्फत १६ करोड ८४ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी चण्डीदेवी विशाल एण्ड विराट जेभी, काठमाडौँले ठेक्का सम्झौता गरेको छ।

अस्पतालमा ओपीडी सेवाका लागि छुट्टै र आधुनिक भवन बनेपछि बिरामीहरूले सहज र छिटो छरितो सेवा पाउने अपेक्षा गरिएको छ। मुख्यमन्त्री कँडेलले निर्माण कार्यलाई तोकिएको समयमै र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न निर्देशन दिनुभएको छ। भवन निर्माण सम्पन्न भएपछि प्रदेश अस्पतालको विद्यमान साँगुरो पूर्वाधारको समस्या हल हुने र विशेषज्ञ सेवाहरू थप व्यवस्थित हुने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार