कालीकोट २८ बैसाख। कर्मचारी मिलन केन्द्र कालीकोटले नयाँ वर्ष २०८३ सालको भित्ते पात्रो (क्यालेण्डर) सार्वजनिक गरेको छ। सोमबार एक विशेष समारोहका बीच भित्ते पात्रो विमोचन तथा जिल्लामा नयाँ सरुवा भएर आएका कर्मचारीहरूलाई स्वागत गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।
मिलन केन्द्रका अध्यक्ष अबिराज शाहीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कालीकोटका प्रमुख जिल्ला अधिकारी एवं मिलन केन्द्रका संरक्षक गोकर्ण राज सुयल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताको विशेष आतिथ्यता रहेको थियो भने जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा कालीकोट जिल्ला र विशेष गरी खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएर आउनुभएका सुरेश राज जाेशी लगायत अन्य कार्यालयमा नयाँ आउनुभएका कर्मचारीहरूलाई भव्य स्वागत गरिएको थियो। सोही अवसरमा मिलन केन्द्रद्वारा प्रकाशित २०८३ सालको नयाँ भित्ते पात्रो बिमोचन गरी उपस्थित महानुभावहरूलाई वितरण गरिएको थियो।
स्वागत तथा विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुयलले कर्मचारीहरूबीचको आपसी समन्वय र एकताले जिल्लाको सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। नवआगन्तुक कर्मचारीहरूलाई कालीकोटमा स्वागत गर्दै उहाँहरूकाे कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरिएको थियो।
जिल्लामा कार्यरत कर्मचारीहरूबीच भाइचारा बढाउन र एकताबद्ध भएर काम गर्ने वातावरण निर्माण गर्न यस्ता कार्यक्रमले थप उर्जा दिने विश्वास कर्मचारी मिलन केन्द्रले लिएको छ।