Loading

सुर्खेतको गिरिघाटमा विशेष ट्राफिक चेकिङ: मादक पदार्थ र लागूऔषध सेवन गर्ने चालक पक्राउ

सुर्खेतको गिरिघाटमा विशेष ट्राफिक चेकिङ: मादक पदार्थ र लागूऔषध सेवन गर्ने चालक पक्राउ

सुर्खेत २७ बैसाख । कर्णाली राजमार्गमा हुने सम्भावित सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनलाई चुस्त बनाउन सुर्खेत प्रहरीले आइतबार विशेष अपरेसन सञ्चालन गरेको छ।

सुर्खेतको वीरेन्द्रनगर–२ स्थित गिरिघाट नजिकै आइतबार गरिएको संयुक्त ‘मा.प.से. (मादक पदार्थ सेवन) र ‘ला.प.से. (लागूऔषध सेवन) चेकजाँचका क्रममा नियम विपरीत सवारी चलाउने दर्जनौँ चालकहरू कारबाहीमा परेका छन्।

ट्राफिक नियमको पालना गराउन र सडक अनुशासन कायम गर्न नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजाल आफैँ कमाण्ड सम्हाल्दै सडकमा उत्रिनुभएको थियो। संयुक्त टोलीले राजमार्गमा चल्ने करिब २५० वटा सवारी साधनहरूलाई मिहिन ढङ्गले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा लागूऔषध सेवन गरेर यात्रु बोक्ने एक अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ती चालकलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ। यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने एक जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सवारी साधनको स्वरूप बिगार्ने र दुर्घटना निम्त्याउन सक्ने अनावश्यक सामग्रीहरू हटाउन विशेष कडाइ गरेको छ। आजको अभियानका क्रममा:

३० वटा सवारीबाट अनावश्यक झल्लरहरू निकालिएको छ।

२० वटा सवारीमा जडान गरिएका अनावश्यक लाइटहरू हटाइएको छ।

३ वटा सवारीबाट नियम विपरीत राखिएका अतिरिक्त सिटहरू निकालिएको छ।

नम्बर प्लेट स्पष्ट नभएका (लेदरप्लेट) २ वटा सवारीलाई पनि कारबाहीको दायरामा ल्याइएको छ।

चेकजाँचका क्रममा सामान्य गल्ती देखिएका करिब २०० सवारी चालकहरूलाई आगामी दिनमा गल्ती नदोहोर्‍याउन सम्झाई–बुझाई गरी छाडिएको छ। अन्य गम्भीर प्रकृतिका नियम उल्लंघन गर्ने २७ वटा सवारी साधनलाई भने ट्राफिक नियम अनुसार जरिवाना र कारबाही गरिएको छ।

राजमार्गमा हुने दुर्घटना कम गर्न र यात्रुहरूको यात्रा सुरक्षित बनाउन यस्ता आकस्मिक र विशेष चेकजाँचलाई निरन्तरता दिइने प्रहरी उपरीक्षक रिजालले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार