कालीकोट, २२ वैशाख । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने प्रक्षेपण गरेको छ। आज मंगलबार बिहान जारी गरिएको मौसम बुलेटिन अनुसार विशेषगरी देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ।
आज दिउँसो देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराईका भू-भागमा आंशिक बादल लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशसहित देशका अन्य पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। देशका बाँकी भू-भागका थोरै स्थानहरूमा पनि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। रातीको समयमा कोशी प्रदेशका केही स्थानहरूका साथै मधेश र बागमती प्रदेशसहित देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बाँकी भू-भागका एक-दुई स्थानमा समेत हल्का वर्षा वा हिमपातको सम्भावना रहेकाले पहाडी भेगमा यात्रा गर्दा वा कृषि कार्य गर्दा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।