काठमाडौँ, १८ वैशाख । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक आईजीपी राजु अर्याल सेवा अवधि पूरा गरी फौजी परम्पराअनुसार बिदाइ हुनुभएको छ । शुक्रबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा आयोजित एक विशेष समारोहका बीच नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले अर्याललाई मायाको चिनो हस्तान्तरण गर्दै बिदाइ गर्नुभयो ।
नेतृत्व र छडी हस्तान्तरण
सो अवसरमा निवर्तमान महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक पौडेललाई संगठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झन्डा हस्तान्तरण गर्दै नेतृत्व सुम्पिनुभयो । साथै, उहाँले संगठनको सम्पूर्ण जिम्मेवारीको बरबुझारथ समेत गर्नुभएको छ । बिदाइ समारोहमा बोल्दै अर्यालले नागरिक सुरक्षाको सर्वोच्च तहमा पुगेर सफलतापूर्वक अवकाश पाउनुलाई आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि र गौरवको विषय भएको बताउनुभयो । उहाँले संगठन सुधार एक निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिनुभयो ।
नयाँ नेतृत्वको प्रतिवद्धता
नवनियुक्त आईजीपी नारायणदत्त पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने बताउनुभयो । निवर्तमान आईजीपी अर्यालको अनुभव र मार्गदर्शन आगामी दिनमा पनि संगठनका लागि महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै पौडेलले उहाँको सुखद र सम्मानित जीवनको शुभकामना व्यक्त गर्नुभयो ।
समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती सावित्राकुमारी पौडेलले संघकी अध्यक्ष अनिता लामिछाने अर्याललाई फूलमालासहित बिदाइ गर्नुभएको थियो । यो नेतृत्व परिवर्तनसँगै सशस्त्र प्रहरी बलले नयाँ कार्यदिशा र उर्जाका साथ अघि बढ्ने अपेक्षा गरिएको छ ।