कालीकोट, १४ वैशाख । कालीकोट र बाजुराको सिमानास्थित लैखुडाँडाको भिरमा जेसीबी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बाजुराको जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय महेश रावलको दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश ३-०१-००३ क ६३११ नम्बरको उक्त जेसीबी आइतबार बिहान ७ बजेतिर सडकबाट तल खसेर भिरमा अड्किएको थियो। दुर्घटनामा परेका जेसीबी चालक कालीकोटको नरहरिनाथ गाउँपालिका–२ का २५ वर्षीय केशव विष्ट र १८ वर्षीय सहचालक खगेन्द्र विष्ट भने सकुशल रहेका छन्।
घटनास्थल अत्यन्तै विकट र पहुँचयोग्य नभएका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको थियो। बिहानै दुर्घटना भए पनि सुरक्षा निकायलाई भिरमा अड्किएको मेसिनबाट शव निकाल्न दिउँसोसम्म लागेको थियो। नेपाली सेनाका प्राविधिक उपसेनानी प्रविन श्रेष्ठका अनुसार भौगोलिक जटिलताका कारण उद्धार टोलीलाई घटनास्थल पुग्नै समय लागेको र दिनभरिको प्रयासपछि मात्र शव बाहिर निकालिएको हो। उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली दिनभर खटिएको थियो।