Loading

सवारी दुर्घटना न्यूनीकरणका लागि कालीकोटमा ‘यान्त्रिक चेकिङ’

सवारी दुर्घटना न्यूनीकरणका लागि कालीकोटमा ‘यान्त्रिक चेकिङ’

मान्म (कालीकोट), १३ वैशाख । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कालीकोटको खाँडाचक्र नगरपालिका–३ ताडी बजारमा आज विशेष ‘यान्त्रिक चेकिङ’ तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटको आयोजना र जनता ग्यारेज कालीकोटको प्राविधिक सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा जनता ग्यारेजका दक्ष प्राविधिकहरूले सडकमा गुडिरहेका सवारी साधनहरूको मेकानिकल अवस्थाको विस्तृत परीक्षण गरेका थिए। विशेष गरी सवारीको ब्रेक प्रणाली, टायरको अवस्था, स्टेरिङ र लाइटहरूले सही ढंगले काम गरे/नगरेको जाँच गरिएको थियो। यान्त्रिक गडबडीका कारण हुन सक्ने सम्भावित ठूला दुर्घटनाहरूलाई समयमै रोक्न यो अभियान प्रभावकारी हुने विश्वास गरिएको छ।

चेकिङका क्रममा ट्राफिक प्रहरीले चालकहरूलाई सवारीको नियमित मर्मत–सम्भार, सडक नियमको पालना र सुरक्षित यात्राका उपायहरूबारे सचेत गराएको थियो। प्राविधिक रूपमा कमजोर देखिएका सवारी साधनहरूलाई तत्काल मर्मत गर्न र पूर्ण रूपमा दुरुस्त भएपछि मात्र सडकमा निकाल्न सुझाव दिइएको छ।

ताडी बजार जस्तो व्यस्त क्षेत्रमा गरिएको यो संयुक्त प्रयासले सवारी धनी र चालकहरूलाई आफ्नो सवारीको प्राविधिक अवस्थाप्रति जिम्मेवार बनाउन मद्दत पुर्‍याएको छ। ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस्ता यान्त्रिक परीक्षणका कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार