Loading

सशस्त्र प्रहरीको भवन निर्माणमा ढिलासुस्ती नगर्न सांसद शाहीको निर्देशन

सशस्त्र प्रहरीको भवन निर्माणमा ढिलासुस्ती नगर्न सांसद शाहीको निर्देशन

मान्म, ९ वैशाख । कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा संघीय सांसद महेन्द्र बहादुर शाहीले सशस्त्र प्रहरी बल नेपाल हे.क्वा. कालीकोटको निर्माणाधीन भवनको स्थलगत निरीक्षण गर्नुभएको छ। सदरमुकाम मान्ममा निर्माण भइरहेको उक्त प्रशासनिक भवनको पछिल्लो अवस्था र गुणस्तरबारे जानकारी लिन उहाँ आज निर्माणस्थल पुग्नुभएको हो।

निरीक्षणका क्रममा सांसद शाहीले भवन निर्माणको गति र प्रयोग भइरहेका सामग्रीका बारेमा इन्जिनियर तथा सुरक्षा अधिकारीहरूसँग सोधपुछ गर्नुभएको थियो। सो अवसरमा उहाँले निर्माणको जिम्मेवारी पाएको व्यवसायीलाई भेटेर कुनै पनि बहानामा काममा ढिलासुस्ती नगर्न र निर्धारित समयभित्रै निर्माण सम्पन्न गर्न कडा निर्देशन दिनुभएको छ। “सुरक्षा निकायको भवन जस्तो संवेदनशील संरचना निर्माणमा ढिलाइ हुनु राम्रो होइन, गुणस्तरमा ध्यान दिँदै समयमै हस्तान्तरण गर्नुहोस्,” उहाँले भन्नुभयो।

पछिल्लो समय जिल्लाका विभिन्न विकास आयोजनाहरूको नियमित अनुगमनमा खटिनुभएका शाहीले सरकारी भवनहरू अलपत्र पारेर राख्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताउनुभयो। सशस्त्र प्रहरीको आफ्नै व्यवस्थित भवन नहुँदा कार्यसम्पादनमा असहजता भइरहेको सन्दर्भमा यो भवन छिटो सम्पन्न गर्न उहाँले चासो देखाउनुभएको हो। निरीक्षणमा सशस्त्र प्रहरीका स्थानीय कमान्डर र अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार