वीरेन्द्रनगर, ५ वैशाख । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) शाखा कार्यालय सुर्खेतले नयाँ वर्ष २०८३ सालको भित्ते पात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ। आज वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रमका बीच क्यान महासंघका केन्द्रीय सचिव रामकिशोर रावल र क्यान महासंघ सुर्खेतका जिल्ला अध्यक्ष डी.बी. रानाले संयुक्त रूपमा उक्त क्यालेन्डर विमोचन गर्नुभएको हो ।
क्यालेन्डर विमोचन भएको जानकारी दिँदै क्यान महासंघ सुर्खेतका सचिव दिव्यश्वर बरालले यस पात्रोले सूचना प्रविधिसँग सम्बन्धित व्यवसायी, व्यक्ति तथा संस्थाहरूको एकता र सहकार्यका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “डिजिटल नेपाल” को अभियानलाई टेवा पुर्याउने उद्देश्यका साथ प्रकाशित यस क्यालेन्डरमा प्रविधि क्षेत्रका नवीनतम् जानकारी, महत्वपूर्ण तिथि, विवाह तथा व्रतबन्धका मुहूर्तहरू र क्यान महासंघका विभिन्न गतिविधिहरूलाई समावेश गरिएको छ ।

विमोचन कार्यक्रममा बोल्दै केन्द्रीय सचिव रावलले प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा यस्ता सामग्रीले आम नागरिकलाई प्रविधिसँग जोड्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो। जिल्ला अध्यक्ष डी.बी. रानाले क्यान महासंघले व्यावसायिक समस्या समाधान र क्षमता विकासका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै सबै सदस्यहरूलाई एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो ।
उक्त क्यालेन्डरमा क्यान महासंघ सुर्खेतको वर्तमान कार्यसमितिको विवरण, पूर्व अध्यक्षहरूको नामावली र सूचना प्रविधि क्षेत्रका विभिन्न व्यवसायीहरूको व्यावसायिक सूचना समेत समावेश गरिएको छ । कार्यक्रममा क्यान महासंघका पदाधिकारी, सूचना प्रविधि व्यवसायी र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। क्यान सुर्खेत शाखाले वर्षेनी यस्तो क्यालेन्डर प्रकाशन गर्दै आएको छ ।