Loading

प्रदेश अस्पतालको ‘डेथ सर्टिफिकेट’: उपचारमा कमजोरी कि उद्धारमा ढिलाइ?

प्रदेश अस्पतालको ‘डेथ सर्टिफिकेट’: उपचारमा कमजोरी कि उद्धारमा ढिलाइ?

सुर्खेत, ५ वैशाख । कर्णालीको भरोसा मानिने प्रदेश अस्पताल सुर्खेत फेरि एकपटक सुत्केरीको ज्यान गएको घटनाले कठघरामा उभिएको छ। कालीकोटकी २७ वर्षीया भावना विष्टको उपचारका क्रममा भएको मृत्युलाई अस्पतालले ‘जटिल स्वास्थ्य अवस्था’को संज्ञा दिएर पन्छिन खोजे पनि, घटनाक्रमको सिलसिलेवार विश्लेषण गर्दा अस्पतालको व्यवस्थापकीय लाचारी र निर्णय क्षमताको अभाव छर्लङ्ग देखिएको छ। ‘कर्णाली खबर’ले गरेको बिभिन्न स्राेतबाटकाे प्राविधिक विश्लेषणका आधारमा अस्पतालका यी कमजोरीहरू देखिएका छन्:

अस्पताल आफैँले स्वीकार गरेको छ— वैशाख ३ गते नै भावनाको अवस्था ‘मल्टी अर्गन डिफङ्सन’ (शरीरका अङ्गहरूले काम गर्न छोडेको) स्थितिमा पुगिसकेको थियो। सोही दिन काठमाडौँ रिफर गर्ने निर्णय भए पनि ‘हेलिकप्टर आएन’ भन्ने बहानामा २४ घण्टासम्म बिरामीलाई अस्पतालमै राखियो। मृत्युसँग लडिरहेको बिरामीका लागि २४ घण्टा भनेको अनन्त समय हो। हेलिकप्टर नआए वैकल्पिक व्यवस्था किन गरिएन? कि अस्पताल बिरामीको अन्तिम सास कुरेर बसेको थियो?

अस्पतालको विज्ञप्तिमा दोस्रो पटक शल्यक्रिया गर्दा पेटमा ५०० एमएल रगत/तरल पदार्थ जमेको उल्लेख छ। पहिलो शल्यक्रिया (सिजरियन) पछि बिरामीको पेटमा यति ठूलो मात्रामा रगत जम्नुले शल्यक्रियामा संलग्न चिकित्सकको दक्षता वा त्यसपछिको निगरानी (Post-Operative Monitoring) मा गम्भीर त्रुटि भएको सङ्केत गर्छ। ‘एक्टिभ ब्लिडिङ’ नदेखिनु तर रगत जम्नु आफैँमा विरोधाभासपूर्ण छ।

अस्पतालले बिरामीलाई ‘सिभियर प्रि-एक्लामप्सिया’ (अत्यधिक उच्च रक्तचाप) भएको दाबी गरेको छ। यस्तो अवस्थाका बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा अस्पतालको स्त्रीरोग र आईसीयू विभागबीच समन्वयको अभाव देखिन्छ। मृगौलाले काम गर्न छोडेको (Serum Creatinine बढेको) समयमै थाहा पाउँदा पाउँदै पनि बिरामीलाई ‘भेन्टिलेटर’ को सहारामा मात्रै सीमित राख्नु अस्पतालको प्राविधिक कमजोरी हो।

मृतकका आफन्तको मुख्य आक्रोश अस्पतालले बिरामीको वास्तविक अवस्थाबारे समयमै सही जानकारी नदिएकोमा छ। बिरामीको अङ्गहरूले काम गर्न छोडिसक्दा पनि ‘सुधार हुँदैछ’ भन्दै आशा देखाउनु र अन्तिम अवस्थामा मात्रै ‘हात उठाउनु’ले अस्पतालको व्यवसायिक नैतिकतामाथि प्रश्न उठाएको छ।

प्रदेश अस्पतालमा पछिल्लो समय जटिल बिरामीलाई अन्तिम अवस्थामा मात्रै रिफर गर्ने ‘ट्रेन्ड’ देखिएको छ। भावनाको केसमा पनि जब अस्पताललाई लाग्यो कि अब बिरामी बचाउन सकिँदैन, तब मात्र काठमाडौँको बाटो देखाइयो। यो बिरामी बचाउने प्रयास भन्दा पनि ‘आफ्नो अस्पतालमा मर्न नदिने’ रणनीति जस्तो देखिन्छ।

दैनिक हजारौँको उपचार गर्ने दाबी गर्ने प्रदेश अस्पतालले भावना विष्टको मृत्युलाई केवल ‘प्राविधिक जटिलता’ भनेर पन्छिन मिल्दैन। हेलिकप्टर कुरेर बिरामीलाई मृत्युको मुखमा पुर्‍याउनु र शल्यक्रियापछि देखिएका जटिलताको समयमै उपचार नगर्नु अस्पतालको अक्षम्य भूल हो। कर्णालीका आमाहरूले सुरक्षित सुत्केरी हुन कहिलेसम्म यस्तो ‘मौतको खेल’ खेल्नुपर्ने हो? यसको जवाफ प्रदेश सरकार र अस्पताल प्रशासनले दिनैपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार