काठमाडौँ, ४ वैशाख । सङ्घीय सरकारले देशैभरका गाउँपालिका, नगरपालिका र वडाहरूको सङ्ख्या तथा सिमाना हेरफेर गर्ने कार्यलाई व्यवस्थित बनाउन नयाँ मापदण्डको मस्यौदा तयार पारेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कानुनी व्यवस्थामा आधारित रहेर ‘गाउँपालिका तथा नगरपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेर, एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८३’ को प्रारम्भिक मस्यौदा तयार पारेको हो।
मन्त्रालयले तयार पारेको यो नयाँ मापदण्डका बारेमा सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग आधिकारिक राय र सुझाव माग गरेको छ। स्थानीय तहहरूको भूगोल, जनसङ्ख्या र प्रशासनिक सुगमताका आधारमा सिमाना मिलाउने वा दुई वा दुईभन्दा बढी पालिकालाई एक आपसमा गाभ्ने प्रक्रियालाई पारदर्शी र वस्तुगत बनाउन यो मापदण्डले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै, नगरपालिकाहरूको विद्यमान वर्गीकरणमा समेत पुनरावलोकन गरी विकासका सूचकाङ्कका आधारमा नयाँ वर्गीकरण गर्ने सरकारको योजना छ।
मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद पौडेलद्वारा जारी पत्रमा प्रस्तावित मापदण्डका सम्बन्धमा कुनै राय वा सुझाव भए ३ दिनभित्र मन्त्रालयको इमेल ठेगानामा उपलब्ध गराइदिन अनुरोध गरिएको छ। प्रदेश सरकारहरूबाट प्राप्त हुने सुझावलाई समेत समेटेर मापदण्डलाई अन्तिम रूप दिइने र त्यसपछि कार्यान्वयनमा लगिने मन्त्रालयले जनाएको छ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि विशेष गरी भौगोलिक रूपमा अपायक रहेका वडाहरूलाई पायक पर्ने अर्को पालिकामा गाभ्न वा स-साना पालिकाहरूलाई एकीकृत गरी प्रशासनिक खर्च घटाउन बाटो खुल्नेछ। कर्णाली जस्ता भौगोलिक जटिलता भएका क्षेत्रमा वडा र पालिकाको सिमाना हेरफेर गर्ने विषयलाई निकै चासोका साथ हेरिएको छ। प्रदेश सरकारहरूले दिने सुझावका आधारमा यो मापदण्डले संघीयताको जगलाई स्थानीय स्तरमा थप बलियो र व्यावहारिक बनाउने अपेक्षा गरिएको छ।