मान्म, ३ वैशाख । जिल्ला प्रशासन कार्यालय कालीकोटले सार्वजनिक बिदाका दिनहरूमा समेत नागरिकलाई नियमित सेवा प्रवाह गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। नेपाल सरकार गृह मन्त्रालयको निर्देशन र वार्षिक कार्यतालिका अनुसार नयाँ वर्ष २०८३ को सुरुवातसँगै जिल्ला प्रशासनले अत्यावश्यक सेवाहरूलाई बिदाका दिनमा पनि सुचारु राख्ने व्यवस्था मिलाएको हो। यस व्यवस्थाले विशेष गरी भौगोलिक विकटताका कारण टाढा-टाढाबाट सेवा लिन आउने कालीकोटका नागरिकहरूलाई ठूलो सहजता पुग्ने देखिएको छ।

प्रशासनले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार अब बुद्ध जयन्ती, गणतन्त्र दिवस, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, क्रिसमस डे र तमु ल्होछार जस्ता पर्वहरूमा पनि कार्यालय बन्द हुने छैन। त्यसैगरी पृथ्वी जयन्ती, माघी पर्व, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, ग्याल्पो ल्होसार र मुस्लिम समुदायका पर्वहरू ईदुल फित्र तथा बकर ईदका दिनमा समेत कर्मचारीहरू कार्यक्षेत्रमै खटिएर सेवा प्रवाह गर्नेछन्। यी बिदाका दिनहरूमा विशेष गरी नागरिकको बढी चाप हुने नागरिकता प्रमाणपत्र वितरण, राहदानी (पासपोर्ट) सिफारिस र राष्ट्रिय परिचयपत्र सम्बन्धी कामहरू नियमित रूपमा हुनेछन्।
सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचना अनुसार दसैँ, तिहार र छठ जस्ता ठूला बिदा बाहेकका अन्य विभिन्न दिवस र चाडपर्वहरूमा समेत अब सरकारी सेवा पाइने सुनिश्चित भएको छ। यसले सरकारी सेवालाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउनुका साथै सुशासनको अनुभूति गराउने विश्वास लिइएको छ। प्रशासनले यो अवसरको सदुपयोग गर्न र तोकिएका सार्वजनिक बिदाका दिनहरूमा समेत ढुक्क भएर सेवा लिन सम्पूर्ण जिल्लाबासीहरूलाई आग्रह गरेको छ।