मान्म, 3 वैशाख । कालीकोट जिल्लाका आँखाका बिरामीहरूलाई लक्षित गरी आगामी वैशाख दोस्रो साता वृहत् निःशुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर आयोजना हुने भएको छ। नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखराको आयोजना तथा जिल्ला आँखा उपचार केन्द्र कालीकोटको समन्वयमा सो शिविर सञ्चालन हुन लागेको हो।
जिल्ला आँखा उपचार केन्द्र कालीकोटको स्थानमा आयोजना हुने यो शिविर आगामी २०८३ वैशाख १४ गतेदेखि सुरु भई १६ गतेसम्म चल्नेछ। शिविरमा मोतिविन्दुका बिरामीहरूको पहिचान गरी उनीहरूको निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ। आर्थिक अवस्था कमजोर भएका र अस्पतालसम्म पहुँच नभएका ग्रामीण क्षेत्रका नागरिकहरूलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।
यस पुण्य कार्यका लागि रिडले आई फाउन्डेसनले आर्थिक सहयोग गरेको छ भने स्थानीय तहमा नेपाल नेत्रज्योति संघ कालीकोट र जिल्ला आँखा उपचार केन्द्रले व्यवस्थापकीय जिम्मेवारी सम्हालेका छन्। पोखरास्थित हिमालय आँखा अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूको आँखा परीक्षण र शल्यक्रिया गर्नेछन्।
आँखामा समस्या भएका, धमिलो देख्ने वा मोतिविन्दुको आशंका भएका सम्पूर्ण जिल्लाबासीहरूलाई यस अवसरको फाइदा उठाउन आयोजकले आग्रह गरेको छ। नयाँ वर्षको सुरुवातसँगै जिल्लामा सञ्चालन हुन लागेको यो शिविरले दृष्टिविहीनता न्यूनीकरणमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ।