कालीकोट, ३ वैशाख । कालीकोटको तिलागुफा नगरपालिकाको सरकारी सवारी साधन भारतीय बजारसम्म व्यक्तिगत किनमेलका लागि दुरुपयोग भएको गम्भीर तथ्य सार्वजनिक भएको छ। नगरपालिकाको सरकारी गाडी नेपालगञ्ज नाका हुँदै भारतीय बजार रुपैडिहासम्म घरायसी सामान खरिदका लागि प्रयोग गरिएको पाइएपछि स्थानीय स्तरमा तीव्र विरोध सुरु भएको हो।
सार्वजनिक सेवा र अत्यावश्यक कामका लागि मात्र प्रयोग गर्नुपर्ने राज्यको सम्पत्ति व्यक्तिगत प्रयोजनमा खर्चिएको भन्दै स्थानीयले गम्भीर आपत्ति जनाएका छन्। जनस्तरबाट चर्को महँगीको मार खेपिरहेका बेला नागरिककै करबाट चल्ने सरकारी गाडीको यस्तो दुरुपयोग हुनु लज्जास्पद भएको भन्दै नगरवासीले सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा आक्रोश पोखेका छन्। “जनताले तिरेको करबाट तेल हालेर हाकिम र जनप्रतिनिधिले विदेशको बजारमा सपिङ गर्न जानु सुशासनको उपहास हो,” एक स्थानीयले भने।
नगरपालिकाको यो गैरजिम्मेवार व्यवहारले सरकारी संयन्त्र र जनप्रतिनिधिप्रति जनविश्वास कमजोर बनाउने भन्दै नागरिक समाजले समेत घोर आपत्ति जनाएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र पारदर्शिताको कुरा गरिरहँदा छिमेकी मुलुकको बजारसम्म सरकारी गाडी पुग्नुले जिल्लाको प्रशासनिक मर्यादामाथि नै प्रश्न उठाएको छ।
यस विषयमा सत्यतथ्य बुझ्न र तिलागुफा नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृतसँग पटक-पटक सम्पर्क गर्दा फाेन उठेन । सूचना अधिकारी नरजंग शाहीले यस बिषयमा आपुलाइ जानकारी नभएकाे र गाडी सुर्खेतमै रहेकाे बताउनु भयाे ।
सरकारी स्रोत र साधनको दुरुपयोगमा संलग्न कर्मचारी वा पदाधिकारीमाथि तत्काल छानबिन गरी कडा कारबाही गर्न स्थानीयले माग गरेका छन्। अब यस विषयमा जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता सम्बन्धित निकायले कस्तो कदम चाल्छन् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।