मान्म, २ वैशाख । कालीकोटको नरहरीनाथ गाउँपालिकामा ७ वर्षीया एक बालिकामाथि जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही गाउँपालिकाका एक युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते राति अन्दाजी १९:२० बजेको समयमा नरहरीनाथ गाउँपालिका वडा नं. ३ बस्ने ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको हो। बालिका आफ्नै घरमा रहेको अवस्थामा सोही गाउँपालिकाको वडा नं. ४ बस्ने एक युवकले करणी गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
घटनाबारे इलाका प्रहरी कार्यालय कुमालगाउँमा जानकारी गराएलगत्तै प्रहरी नायव निरीक्षक रकबिर के.सी.को कमाण्डमा ४ जनाको टोली घटनास्थल खटिएको थियो। प्रहरी टोलीले घटनामा संलग्न भनिएका आरोपित युवकलाई तत्कालै नियन्त्रणमा लिएको छ। पीडित र आरोपित दुवैको गोपनियता कायम राख्न प्रहरीले उनीहरूको नाम परिवर्तन गरी संकेत नम्बर प्रयोग गरेको छ।
पीडित बालिकालाई तत्काल उपचारका लागि योगी नरहरीनाथ आधारभूत अस्पताल कुमालगाउँ लगिएको थियो। त्यहाँको प्राथमिक उपचारपछि थप जाँच र उपचारका लागि उनलाई जिल्ला स्वास्थ्य अस्पताल कालीकोट ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश ज्ञवालीका अनुसार पीडित बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिमाथि थप अनुसन्धान कार्य अगाडि बढाइएको जनाएको छ। यो घटनाले स्थानीय स्तरमा भने सुरक्षा र बाल अधिकारका विषयमा चिन्ता बढाएको छ।