कालीकाेट- समयको गतिसँगै भित्ते पात्रो फेरिएर आजदेखि हामी नयाँ वर्ष २०८३ सालमा प्रवेश गरेका छौँ। यस सुखद अवसरमा ‘कर्णाली हिमाल खबर प्रा.लि.’ द्वारा सञ्चालित ‘कर्णाली खबर’ डट कमको तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। नयाँ वर्ष केवल अंकको परिवर्तन मात्र नभएर विगतका उपलब्धि र कमजोरीहरूको निर्मम समीक्षा गर्दै भविष्यको सुखद यात्रा तय गर्ने एउटा महत्त्वपूर्ण मोड पनि हो।
नेपालको विगतलाई फर्केर हेर्दा हामीले राजनीतिक व्यवस्थामा ठूला परिवर्तनहरू गर्यौँ, तर ती परिवर्तनहरूले आम नागरिकको जनजीविकामा ल्याउनुपर्ने गुणात्मक सुधार अझै पनि अपेक्षित रूपमा देखिन सकेको छैन। सङ्घीयताको कार्यान्वयनसँगै गाउँगाउँमा सरकार पुगेको महसुस भए पनि सुशासन, विकास र पारदर्शिताको पक्ष अझै कमजोर नै छ। विशेषगरी कर्णाली जस्तो भौगोलिक रूपमा विकट र स्रोतसाधनमा सम्पन्न क्षेत्र अझै पनि केन्द्रको उपेक्षा र स्थानीय प्रशासनको सुस्त कार्यशैलीको चेपुवामा परिरहेको छ। विगतका वर्षहरूमा हामीले डिजिटल नेपालका सपना देख्यौँ, तर त्यसको लाभ दुरदराजका सामान्य नागरिकसम्म पुग्न सकेन। युवा शक्तिको वैदेशिक पलायन र गाउँबस्तीहरू रित्तिँदै जाने क्रमले हाम्रो सामाजिक र आर्थिक संरचनामा गम्भीर प्रश्नहरू खडा गरिदिएको छ।
वर्तमान अवस्थामा देशको अर्थतन्त्र र प्रशासनिक कार्यशैली दुवै सुधारको पर्खाइमा छन्। सरकारी सेवाहरूलाई प्रविधिमैत्री बनाउने प्रयासहरू सुरु भए पनि ती सेवाहरू सर्वसाधारणका लागि अझै पनि झन्झटमुक्त बन्न सकेका छैनन्। नागरिकहरू महँगी, बेरोजगारी र भ्रष्टाचारको मारमा परिरहेका छन् भने अर्कोतर्फ विकासका आयोजनाहरू समयमै सम्पन्न हुन नसक्दा राष्ट्रिय पुँजीको दुरुपयोग भइरहेको छ। यस्तो पृष्ठभूमिमा अबको बाटो केवल आश्वासन र नारामा मात्र सीमित हुनु हुँदैन। अबको हाम्रो मुख्य कार्यसूची भनेको सुशासनको प्रत्याभूति र उत्पादनमुखी अर्थतन्त्रको विकास हुनुपर्छ।
अबको यात्रामा राज्यले प्रविधिको अधिकतम प्रयोग गरी ‘डिजिटल गभर्नेन्स’ लाई इमानदारीका साथ लागू गर्नुपर्छ ताकि नागरिकले एउटा सामान्य कामका लागि पनि सरकारी कार्यालयमा सास्ती भोग्नु नपरोस्। कर्णालीको जल, जमिन र जडिबुटीलाई सही ढङ्गले परिचालन गरी स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्न ढिला भइसकेको छ। राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले आफ्नो सेवा प्रवाहलाई नागरिकप्रति जवाफदेही बनाउँदै पारदर्शी कार्यशैली अपनाउनु नै आजको मुख्य आवश्यकता हो।
अन्त्यमा, ‘कर्णाली खबर’ नयाँ वर्ष २०८३ मा पनि सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको माध्यमबाट समाजको ऐना बन्ने संकल्प दोहोर्याउँछ। हामी सत्ताको चाकडी होइन, नागरिकको वकालत गर्दै विकास र समृद्धिको यात्रामा सधैँ खबरदारी गरिरहनेछौँ। नयाँ वर्षले हामी सबैमा सकारात्मक सोच र देश निर्माणको नयाँ उर्जा प्रदान गरोस्। शुभकामना ।
-सम्पादक