सुर्खेत, ३० चैत । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले एक विशेष ‘शुभकामना आदानप्रदान कार्यक्रम’ सम्पन्न गरेको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
हौसला र एकताको सन्देश
नयाँ वर्षको आगमनलाई उल्लासमय बनाउन र प्रहरी कर्मचारीहरूबिच आपसी भ्रातृत्व एवं सामिप्यता बढाउन आयोजित कार्यक्रममा प्रदेश प्रहरी कार्यालय तथा मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी सापकोटाले नयाँ वर्षले सम्पूर्ण प्रहरी कर्मचारीमा नयाँ उत्साह र उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।
सुरक्षा र जिम्मेवारीमा जोड
शुभकामना दिने क्रममा उहाँले नागरिकको सुरक्षामा प्रहरीको भूमिका सधैँ अग्रणी रहने उल्लेख गर्दै आगामी वर्षमा अझ बढी व्यवसायिक र कर्तव्यनिष्ठ भएर सेवामा खटिन निर्देशन दिनुभयो। “नयाँ वर्ष केवल मिति परिवर्तन मात्र होइन, हाम्रो कार्यशैली र सेवा प्रवाहलाई अझ परिष्कृत बनाउने अवसर पनि हो,” उहाँले भन्नुभयो।
कार्यक्रममा उपस्थित अन्य प्रहरी अधिकारीहरूले पनि नयाँ वर्षको अवसरमा एक-अर्कालाई शुभकामना साटासाट गर्दै आगामी दिनमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए। वर्षान्तको समयमा आयोजित यस कार्यक्रमले कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।