कालीकाेट- पाँच दिनअघि नै अस्पताल आउनुपर्ने गर्भवती महिला व्यथाले थलिएर अन्तिम अवस्थामा अस्पताल पुग्दा कालीकोट अस्पतालका चिकित्सकहरूले सफल शल्यक्रिया गरी आमा र शिशु दुवैको ज्यान जोगाएका छन्। शुभकालिका-४ की २३ वर्षीया जनपूरा विश्वकर्माको जटिल अवस्थामा आकस्मिक शल्यक्रिया गरी ३४ सय ग्रामको शिशुलाई सकुशल जन्म दिइएको हो।
त्रास र उद्धारको त्यो क्षण
लामो व्यथा लागेर सिकिस्त भएकी जनपूरालाई लिएर उनका श्रीमान् र सासू रुँदै अस्पताल पुगेका थिए। “आमा र बच्चालाई जसरी पनि बचाइदिनुस्” भन्दै उनीहरूले चिकित्सकसँग अनुनय गरेपछि डा. दर्शनराज पाण्डे नेतृत्वको टोली तत्काल सक्रिय भएको थियो। जाँचका क्रममा बच्चा उल्टो बसेको र बच्चाले पेटभित्रै बाक्लो दिसा गरिसकेकाले सामान्य प्रसूति हुने सम्भावना शून्य थियो। यस्तो अवस्थामा ढिलाइ भएको भए आमा र बच्चा दुवैलाई गुमाउनुपर्ने खतरा थियो।
ड्युटीमा रहेकी नर्स लक्ष्मी रावललाई रगतको तयारीमा राखेर गरिएको शल्यक्रिया अन्ततः सफल भयो। हाल आमा र बच्चा दुवैको अवस्था खतरामुक्त छ।
कर्णाली खबरको सन्दर्भ र अस्पतालको सेवा
यो सफलतासँगै कालिकोट अस्पतालमा चैत महिनामा मात्रै शल्यक्रियाको संख्या १० पुगेको छ। कर्णाली खबर ले यसअघि नै उल्लेख गरेझैँ, पछिल्लो समय जिल्ला अस्पतालले विशेषज्ञ सेवामार्फत दुर्गमका नागरिकको विश्वास जित्दै आएको छ। विशेषगरी प्रसूति सेवामा जटिलता आउँदा सुर्खेत वा नेपालगन्ज रिफर गर्नुपर्ने बाध्यता हट्दै गएको यो घटनाले पुनः पुष्टि गरेको छ।
डा. पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भन्नुभएको छ, “हामी अत्यावश्यक बाहेकको सामान्य अवस्थामा शल्यक्रिया गर्दैनौँ। तर नर्मल हुँदै नहुने केसमा कुरेर बस्दा ज्यान जान सक्छ।” उहाँले चिकित्सक र नर्सले कहिल्यै पनि विनाकारण शल्यक्रियाको दबाब नदिने स्पष्ट पार्दै जटिल अवस्थामा समयमै अस्पताल पुग्न र चिकित्सकको सल्लाह मान्न सबैलाई आग्रह समेत गर्नुभएको छ। पुन: कालीकाेटका आमाहरुकाे जीवन बचाउन अहाेरात्र खट्नु हुने जिल्ला अस्पताल प्रमुख डाक्टर रत्नविर सुनार लगायत सम्पुर्ण स्वास्थ्यकर्मिलाइ हार्दिक आभार सहित नमन् ।।।