कालीकोट- कालीकोटको नरहरिनाथ गाउँपालिकामा आगामी वैशाख ६ गतेदेखि १६ औँ जिल्ला अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ। गाउँ कार्यपालिकाको कार्यालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै प्रतियोगिताको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो।
प्रतियोगितामा सहभागी हुन चाहने जिल्लाका सबै स्थानीय तहका खेलाडीहरूका लागि गाउँपालिकाले आगामी वैशाख ४ गते बेलुका ५ बजेसम्म नाम दर्ताको समयसीमा तोकेको छ। निर्धारित तालिका अनुसार सहभागी खेलाडीहरू वैशाख ५ गते बेलुकासम्म नरहरिनाथ पुगिसक्नु पर्नेछ। प्रतियोगिताको मुख्य आकर्षणको रूपमा रहेको मार्चपास वैशाख ६ गते बिहान १० बजे हुनेछ भने सोही दिन बिहान ११ बजे एक विशेष समारोहका बीच प्रतियोगिताको भव्य उद्घाटन गरिने कार्यक्रम छ।
खेलाडीहरूको नाम दर्ता प्रक्रिया ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशिका, २०७० (संशोधन)’ को परिधिभित्र रही सम्पन्न गरिने गाउँपालिकाले जनाएको छ। दर्ता तथा प्राविधिक जानकारीका लागि चिन बहादुर बोगटी, दिपेन्द्र विष्ट, विरेन्द्र सहकारी र यमराज विष्टलाई सम्पर्क व्यक्तिको रूपमा तोकिएको छ। वरिष्ठ शिक्षा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित सूचनामार्फत प्रतियोगितालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालाहरूलाई सहयोगको अपिल समेत गरिएको छ।