कालीकोट- सडक डिभिजन कार्यालय जुम्लाले सम्झौता अनुसार काम नगर्ने ६ वटा निर्माण कम्पनीको ठेक्का रद्द गरेको छ। कालीकोट, जुम्ला र मुगु जिल्लामा सञ्चालित विभिन्न सडक योजनाहरूको काम पटक-पटक म्याद थप्दा पनि सम्पन्न नगरेपछि डिभिजन कार्यालयले सार्वजनिक खरिद ऐन अनुसार ठेक्का अन्त्य (Terminate) गरेको हो।
कुन-कुन कम्पनीको ठेक्का भयो रद्द ? डिभिजन कार्यालयका अनुसार सम्झौताको सर्त पालना नगर्ने र काम अलपत्र पार्ने निर्माण व्यवसायीहरूमा सुर्खेतको धुर्ब निर्माण सेवा (दुईवटा ठेक्का), कालीकोटको कृष्णा निर्माण सेवा (दुईवटा ठेक्का), मुगुको अविनास निर्माण सेवा र सुर्खेतकै विनम्र निर्माण सेवा रहेका छन्।
अलपत्र परेका मुख्य सडक खण्डहरू रद्द गरिएका ठेक्काहरूमा कर्णाली राजमार्ग अन्तर्गतको दहीखोला-मान्म-नाग्मा-जुम्ला खण्डमा सडक सुरक्षाका कार्यहरू, जुम्ला र कालीकोट खण्डमा स्ल्याब कल्भर्ट तथा सुरक्षाका कामहरू रहेका छन्। यस्तै, कालीकोटको बालिघाट नजिकैको मर्मत कार्य र खुलालु देखि घोडेङ्गा सम्मको ओभरले (पिच) गर्ने काम पनि ठेक्का रद्द भएपछि अलपत्र परेको छ। मुगुको ताल्चा देखि रारा र छायाँनाथ रारा नगरपालिका क्षेत्रका सडक सुधारका कामहरू पनि रोकिएका छन्।

किन लियो डिभिजनले यस्तो कडा निर्णय ? सडक डिभिजन जुम्लाका अनुसार यी निर्माण व्यवसायीहरूलाई काम सम्पन्न गर्न पटक-पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि बेवास्ता गरेका थिए। थपिएको म्याद समेत समाप्त भइसक्दा पनि निर्माण व्यवसायीकै कारण काम सम्पन्न नहुने परिस्थिति सिर्जना भएपछि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ अनुसार ठेक्का अन्त्य गरिएको हो।
कार्यालयले यी व्यवसायीहरूलाई तत्काल कार्यस्थल छोड्न र सम्पन्न भइसकेका कार्यहरूको भुक्तानी बाँकी भए १५ दिनभित्र सम्पर्क राख्न समेत सूचित गरेको छ। समयमै काम नगर्ने ठेकेदारमाथि सडक डिभिजनले चालेको यो कदमलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।