कालीकाेट- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले जारी गरेको पछिल्लो बुलेटिन अनुसार विशेषगरी कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा मौसमको प्रभाव बढी देखिने छ।
आज दिउँसो कोशी प्रदेश र अन्य पहाडी क्षेत्रका केही स्थानहरूमा मौसम बदली भई मेघगर्जन, चट्याङ्ग र हावाहुरी चल्ने सम्भावना रहेको छ। कतिपय स्थानमा असिनासहित मध्यम वर्षा र उच्च हिमाली भेगमा हिमपात हुन सक्ने पूर्वाभास गरिएको छ। देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने भए तापनि केही थोरै स्थानमा सामान्य बदलीको अवस्था रहनेछ।
यसैगरी आज राति पनि मौसमको प्रभाव कायमै रहने देखिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसममा आउने यस्तो परिवर्तनका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न महाशाखाले विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। मेघगर्जन, चट्याङ्ग र हावाहुरीको समयमा सुरक्षित स्थानमा रहन र मौसमको अवस्था हेरेर मात्र आफ्ना दैनिक गतिविधिहरू सञ्चालन गर्न सुझाव दिइएको छ।