कालीकोट- माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित बनाउने नाममा ‘होम सेन्टर’ परिवर्तन गरिएपछि कालीकोटका विद्यार्थी र अभिभावकले ठूलो सास्ती खेप्नुपरेको छ। आफूले पढेको विद्यालयभन्दा टाढा परीक्षा केन्द्र तोकिँदा परीक्षार्थीहरूलाई आर्थिक र मानसिक दबाब मात्र परेको छैन, विशेषगरी छात्राहरूको सुरक्षामा गम्भीर प्रश्न उठेको छ।
खाँडाचक्र–३ का स्थानीयका अनुसार वर्षभरि पढाइमा ध्यान नदिने सरकारी निकायले परीक्षाको मुखमा केन्द्र परिवर्तन गरेर विद्यार्थीलाई तनाव दिने काम गरेका छन्। घर नजिकै परीक्षा दिन पाउने सुविधा खोसिएपछि परीक्षार्थीहरू ओछ्यान र सामल (खाद्यान्न) बोकेर केन्द्र नजिकका बस्तीमा कोठा खोज्न भौंतारिनुपर्ने बाध्यता सिर्जना भएको छ। यसले विपन्न परिवारलाई थप आर्थिक भार पारेको छ।
मनोविमर्शकर्ता र अधिकारकर्मीहरूले यो निर्णयले छात्राहरूलाई हिंसा र दुर्व्यवहारको जोखिममा पारेको बताएका छन्। विगतमा केन्द्र परिवर्तन हुँदा छात्रामाथि बलात्कार र यौन दुर्व्यवहारका घटना भएका नमीठा उदाहरणहरू कालीकोटमा अझै ताजै छन्। ५ वर्षअघि जनज्योति मावि पाखाबाट परीक्षा दिन कालिका मावि गेला पुगेकी एक छात्रामाथि भएको बलात्कारको घटना र ३ वर्षअघि अर्की छात्रामाथि भएको दुर्व्यवहारले टाढाका केन्द्रहरू बालबालिकाका लागि असुरक्षित रहेको पुष्टि गर्छ।
भौगोलिक विकटताका कारण पलाता, महाबै, रास्कोट र सान्नीत्रिवेणीका कतिपय विद्यालयका विद्यार्थीहरू हिँडेरै सदरमुकाम मान्मसम्म आउनुपर्ने अवस्था छ। प्राविधिक धारका विद्यार्थीको केन्द्र त झन् सदरमुकाममै तोकिएको छ, जसले गर्दा टाढाका विद्यार्थीलाई खान र बस्नको ठूलो समस्या भएको छ।
यता शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हर्षप्रसाद चौलागाई भने परीक्षामा हुने चिट र अमर्यादित गतिविधि रोक्न राष्ट्रिय परीक्षा बोर्डको निर्देशन अनुसार नै केन्द्र हेरफेर गरिएको दाबी गर्छन्। जिल्ला परीक्षा समन्वय समितिले भौतिक पूर्वाधार र सुरक्षाको अवस्था हेरेर केन्द्र तोकेको उनको भनाइ छ। यस वर्ष कालीकोटमा २० वटा परीक्षा केन्द्रबाट नियमित र ग्रेडवृद्धि गरी कुल ३ हजार ७ सय १० विद्यार्थीले एसईई दिने तयारी छ।