कालीकोट- जिल्ला अस्पतालमा हिजो दुईवटा आपत्कालीन शल्यक्रिया (एल.एस.सी.एस.) मार्फत जटिल अवस्थामा रहेका सुत्केरीहरूको सफल उपचार गरिएको छ। अस्पतालका चिकित्सक डा. रत्नवीर सुनारको नेतृत्वमा रहेको टोलीले यी दुई फरक-फरक जटिल परिस्थितिमा रहेका महिलाहरूको ज्यान बचाउन सफल भएको हो।
खाँडाचक्र नगरपालिका घर भई हाल मान्म बजार बस्दै आउनुभएकी २२ वर्षीया गर्भवती महिलाको बच्चाको तौल अत्याधिक भएको र घाँटीमा साल बेरिएका कारण प्राकृतिक रूपमा जन्मिन कठिन भएको थियो। यस्तो गम्भीर अवस्थामा चिकित्सक टोलीले तत्काल ‘इमर्जेन्सी’ शल्यक्रिया गरी आमा र शिशु दुवैको सकुशल उद्धार गरेको छ। हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
त्यस्तै, नरहरनाथ गाउँपालिका-९ बाट रिफर भई आएकी १९ वर्षीया महिलाको अवस्था झनै जटिल थियो। अस्पताल ल्याइपुर्याउँदा शिशुको धड्कन नभएको, आमाको शरीरमा रगतको मात्रा (हेमोग्लोबिन) र रक्तचाप (बीपी) अत्यन्तै न्यून रहेको थियो। अत्यधिक रक्तश्रावका कारण जोखिमपूर्ण बनेको उक्त अवस्थामा चिकित्सकहरूले तत्काल ‘रिसस्टिगेसन’ (पुनर्जीवन प्रक्रिया) सुरु गरी शल्यक्रिया गरेका थिए। चिकित्सकहरूको अथक प्रयासपछि आमालाई पूर्ण रूपमा सुरक्षित बचाउन सफलता मिलेको छ।
यस सफल उपचार कार्यमा मेडिकल अधिकृत डा. आशिष पाण्डेले डा. रत्नवीर सुनारको नेतृत्वलाई धन्यवाद दिँदै टोलीमा संलग्न अन्य स्वास्थ्यकर्मीहरूको प्रशंसा गर्नुभएको छ। शल्यक्रिया र उपचारमा डा. कर्णराज भाम, स्टाफ नर्सहरू बबिता ठाकुर, मनिषा न्यौपाने, कविता शाही, एनेस्थेसिया सहायक वीरबल चौधरी र सहयोगी चन्दा शाही खटिनुभएको थियो।
त्यस्तै, प्रयोगशालाबाट प्रदीप शाही, आकस्मिक कक्षबाट लोकेन्द्र बोहरा र हेमन्त विक, तथा प्रसूति विभागबाट सिस्टर भावना भण्डारी लगायतको टोलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको डा. पाण्डेले जानकारी दिनुभयो।
अस्पताल प्रशासन र चिकित्सक टोलीले आगामी दिनमा पनि यसरी नै बिरामीको सेवामा तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ।