कालीकाेट- नेपाली राजनीतिको आकाशमा आज एउटा नयाँ अध्यायको सुरुवात भएको छ। एकातिर राम नवमीको पावन अवसर, अर्कोतिर देशले एक ‘युवा प्रधानमन्त्री’ पाउने निश्चित भएसँगै आशा र उत्साहको सञ्चार भएको छ। यसै सन्दर्भमा, विगत सात वर्षदेखि भ्रष्टाचार विरुद्धको लडाइँमा सडकदेखि सदनसम्म गर्जिरहेका सांसद ज्ञानेन्द्र शाहीले भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन्द्र (बालेन) शाहलाई २२ वटा ठूला भ्रष्टाचार काण्डहरूको सूची बुझाउँदै कडा चुनौती र शुभकामना दिएका छन्।
२०७६ साल जेठ १५ गते सुर्खेत र असोज ११ गते चितवनमा भ्रष्टाचार विरुद्ध आवाज उठाएकै कारण आफूमाथि भएको साङ्घातिक हमलालाई स्मरण गर्दै शाहीले भावुक स्ट्याटस लेखेका छन्। साढे दुई वर्षसम्म संसदमा चिच्याउँदा पनि कार्यान्वयन नभएको पीडा व्यक्त गर्दै उनले बालेन शाहको आगमनलाई ‘नयाँ आशा’ को रूपमा चित्रण गरेका छन्।
सांसद शाहीले बालेनलाई भगवान रामको सत्य र न्यायको मार्गसँग तुलना गर्दै भनेका छन्, “सत्यका लागि १२ वर्ष वनवास बस्नुपरे पनि पछि नहट्नुहोस्, हामी साथमा छौँ।”

ज्ञानेन्द्र शाहीले बालेन शाहको नेतृत्वमा बन्ने सरकारले वर्षौँदेखि गुम्सिएका र शक्तिशाली पात्रहरू जोडिएका निम्न काण्डहरूको निष्पक्ष छानबिन हुने अपेक्षा राखेका छन्:
१) लाउडा जहाज भ्रष्टाचार
२) वाइडबडी जहाज खरिद प्रकरण
३) सुडान घोटाला
४) लडाकु शिविर अनियमितता
५) ललिता निवास जग्गा प्रकरण
६) पतञ्जलि जग्गा प्रकरण
७) गिरीबन्धु टी–इस्टेट
८) टीकापुर जग्गा घोटाला
९) लिची बगान जग्गा प्रकरण
१०) बालमन्दिर र बाँसबारी जग्गा प्रकरण
११) नक्कली भुटानी शरणार्थी प्रकरण
१२) भिजिट भिसा प्रकरण
१३) ओम्नी औषधि खरिद प्रकरण
१४) नेपाल ट्रस्टको जग्गा प्रकरण
१५) ३३ किलो सुन तस्करी
१६) ६० किलो सुन तस्करी
१७) सहकारी ठगी
१८) सेक्युरिटी प्रेस खरिद (७० करोड)
१९) टेरामक्स प्रकरण
२०) अन्तःशुल्क स्टिकर प्रकरण
२१) मेलम्ची आयोजना
२२) Ncell प्रकरण
यी सबै काण्डका मुख्य दोषीहरूलाई जेलको कटघरामा देख्न पाउनु नै आफ्नो र नेपाली जनताको मुख्य सपना रहेको शाहीले उल्लेख गरेका छन्। साथै, उनले निर्मला पन्तका हत्याराहरू समेत पक्रिने आशा व्यक्त गरेका छन्।
शाहीले बालेनलाई शुभकामना मात्र दिएका छैनन्, बरु खबरदारी पनि गरेका छन्। उनले कुनै पनि हालतमा अन्याय र भ्रष्टाचारको बाटो नअँगाल्न चेतावनी दिँदै यदि सत्यको बाटोमा हिँडेमा सडक र सदन दुवै ठाउँबाट साथ दिने प्रतिबद्धता जनाएका छन्।
कर्णालीको दुर्गम क्षेत्रबाट प्रतिनिधित्व गर्ने शाही र काठमाडौँको नेतृत्व गरिरहेका बालेनबीचको यो वैचारिक एकताले नेपालको राजनीतिमा ‘डेलिभरी’ खोजिरहेका युवा पुस्तालाई उत्साहित बनाएको छ।
ज्ञानेन्द्र शाहीले सार्वजनिक गरेको यो २२ बुँदे ‘भ्रष्टाचारको नालीबेली’ अब बन्ने सरकारका लागि मुख्य एजेन्डा बन्ला त? के बालेन शाहले यी फाइलहरू खोल्ने आँट गर्लान्? यो त समयले नै बताउनेछ। तर, शाहीको यो स्ट्याटसले नेपाली राजनीतिमा भ्रष्टाचारीहरू विरुद्धको युद्ध अब निर्णायक मोडमा पुगेको संकेत भने स्पष्ट दिएको छ।