Loading

महिनावारी विभेदको दर्दनाक परिणाम : इनिसाको मृत्युले फेरि उठायो समाजको जिम्मेवारी

महिनावारी विभेदको दर्दनाक परिणाम : इनिसाको मृत्युले फेरि उठायो समाजको जिम्मेवारी

कालीकाेट- अन्तर्राष्ट्रिय स्तरमा महिलाका अधिकारबारे गम्भीर छलफल भइरहेका बेला नेपालमा सुर्खेतकी इनिसा बहिनीको दर्दनाक घटना सार्वजनिक हुनु अत्यन्त दुःखद विषय बनेको छ। महिनावारीसँग जोडिएको विभेद र सामाजिक सोचका कारण महिलामाथि हुने भेदभाव अझै समाजमा विद्यमान रहेको यो घटनाले फेरि उजागर गरेको छ।

महिलाले पाठेघर लिएर जन्मनु कुनै अपराध होइन। तर महिनावारीसँग जोडिएको विभेदले पाठेघर लिएर जन्मेका व्यक्तिलाई कमजोर र नलिएर जन्मेकालाई बलियो ठान्ने सामाजिक सोच निर्माण गर्दै आएको छ। यस्तो सोचले परिवार र समाजमा असमान शक्ति सम्बन्ध सिर्जना गर्दै पितृसत्तात्मक संरचनालाई अझ बलियो बनाउने गरेको अधिकारकर्मीहरू बताउँछन्।

महिला तथा बालबालिका अधिकारका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएकी पशुपति कुवरका अनुसार महिनावारीसँग जोडिएको विभेद अन्त्य गर्न घर र समुदायस्तरमै खुला संवाद र व्यापक सचेतना आवश्यक छ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महिनावारीलाई लाज वा अपवित्रताको विषयका रूपमा हेर्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिएकी छन्।

साथै, आगामी Commission on the Status of Women (महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग) बैठकमा महिनावारी विभेदको विषयलाई महत्वपूर्ण रूपमा उठाउने प्रतिबद्धता जनाएकोमा अमेरिकाका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधिको टोलीलाई उनले धन्यवाद पनि व्यक्त गरेकी छन्।

अधिकारकर्मीहरूको भनाइमा महिनावारी प्राकृतिक जैविक प्रक्रिया भए पनि त्यससँग जोडिएको विभेदले महिलामाथि सामाजिक, मानसिक तथा संरचनात्मक हिंसा बढाइरहेको छ। इनिसा बहिनीको घटना त्यसैको पीडादायी उदाहरण भएको उनीहरूको निष्कर्ष छ।

महिनावारी विभेद अन्त्य गर्न राज्य, समुदाय, विद्यालय र परिवार सबै तहमा सचेतना अभिवृद्धि गर्दै व्यवहार परिवर्तनका कार्यक्रम आवश्यक रहेको अधिकारकर्मीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार