कालीकाेट- निर्वाचन आयोग नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न गरी अन्तिम सिट बाँडफाँट सार्वजनिक गरेको छ।
आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सकिएपछि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को व्यवस्था अनुसार सिट बाँडफाँट गरिएको हो।
सार्वजनिक विवरणअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले ५७ सिट प्राप्त गरेको छ। त्यस्तै नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले १६, नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ९, श्रम संस्कृत पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट प्राप्त गरेका छन्।

आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल १ करोड ६९ लाखभन्दा बढी मतदाता मध्ये पहिलो हुने निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाखभन्दा बढी मत खसेको थियो भने समानुपातिकतर्फ १ करोड १२ लाखभन्दा बढी मत खसेको जनाएको छ।
निर्वाचन कानुनअनुसार समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत ल्याउने दल मात्र सिट पाउन योग्य हुने व्यवस्था रहेको छ। यस पटक उक्त थ्रेसहोल्ड पार गर्दै ६ वटा राजनीतिक दल मात्रै संसदमा प्रवेश गरेका छन्।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा सम्बन्धित नियमावलीअनुसार अब दलहरूलाई तीन दिनभित्र समानुपातिक सांसदको नाम सिफारिस गर्न पत्राचार गरिएको जनाएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा कानुनी प्रक्रिया पूरा गरी दलहरूले नाम पठाएपछि अन्तिम रुपमा समानुपातिक सांसद घोषणा गरिने उल्लेख गरिएको छ।