कालीकाेट-कर्णाली प्रदेश सरकार अन्तर्गत रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश ले प्रदेशभरका सबै स्थानीय तहलाई कार्यरत कर्मचारीको अद्यावधिक विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ।
कार्यालयले पठाएको पत्र अनुसार प्रदेश कर्मचारी अभिलेख प्रणालीमा स्थानीय सेवाका कर्मचारीको पूर्ण विवरण उपलब्ध नभएकाले अहिले कार्यरत स्थायी कर्मचारीहरूको अद्यावधिक विवरण माग गरिएको हो। स्थानीय तहमा रहेका रिक्त दरबन्दीमा कर्मचारी पदपूर्ति प्रक्रिया अघि बढाउन तथा प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित बनाउन यो विवरण आवश्यक परेको कार्यालयले जनाएको छ।
पत्रमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत दरबन्दी संरचनाको आधारमा स्थानीय तहमा कर्मचारी व्यवस्थापन तथा पदपूर्तिको प्रक्रिया अघि बढाउन लागिएको उल्लेख गरिएको छ। त्यसका लागि सबै स्थानीय तहले कार्यरत कर्मचारीहरूको अद्यावधिक विवरण तयार गरी Excel फाइल सहित हार्ड र सफ्ट कपी पठाउनुपर्ने व्यवस्था गरिएको छ।
मुख्यमन्त्री कार्यालयले उक्त विवरण २०८२ फागुन ५ गतेभित्र इमेलमार्फत पठाउन आग्रह गरेको छ। साथै स्थानीय तहले संघीय सरकारबाट स्वीकृत दरबन्दी विवरण प्रमाणित गरी संलग्न गरेर पठाउन पनि अनुरोध गरिएको छ।
प्रदेश सरकारको यो कदमलाई स्थानीय तहमा कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा लामो समयदेखि रहेको जनशक्ति अभाव समाधानतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। कर्मचारीको वास्तविक अवस्था र रिक्त दरबन्दीको स्पष्ट तथ्यांक प्राप्त भएपछि प्रदेशभर आवश्यक कर्मचारी पदपूर्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।