सुर्खेत- प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कर्णाली प्रदेशमा साँझ ५ बजेसम्म औसत ५२.५ प्रतिशत मतदान भएको छ। प्रदेशभरका १२ निर्वाचन क्षेत्रमा कुल १० लाख ४८ हजार १३८ मतदाता रहेकामा ५ लाख ५० हजार २२ मत खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक राम प्रकाश शाहले बताउनु भयाे।
खसेको मतमध्ये २ लाख ९८ हजार २०९ महिला, २ लाख ५१ हजार ८११ पुरुष र २ जना अन्य मतदाता रहेका छन्। प्रदेशभर महिला मतदाताको सहभागिता पुरुषभन्दा उल्लेखनीय रूपमा बढी देखिएको छ।
तथ्यांकअनुसार डोल्पामा ६३.१४ प्रतिशत र हुम्लामा ६३.३४ प्रतिशत मतदान भई सबैभन्दा बढी सहभागिता देखिएको छ। त्यस्तै मुगुमा ५८.९० प्रतिशत, रुकुम पश्चिममा ५८.०२ प्रतिशत, जुम्लामा ५६.१८ प्रतिशत र जाजरकोटमा ५६.१६ प्रतिशत मतदान भएको छ।
सुर्खेतका दुई निर्वाचन क्षेत्रमा क्रमशः ५३.१९ र ५५.९७ प्रतिशत मतदान भएको छ। दैलेखका दुई क्षेत्रमा ४९.३७ र ४३.०४ प्रतिशत मतदान हुँदा सल्यानमा ४४.४० प्रतिशत मतदान भएको छ।
प्रदेशका सबै जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो। हालसम्म कुनै उल्लेखनीय अवाञ्छित घटना नभएको र मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको कर्णाली प्रदेश प्रहरी कार्यालयकाले जनाएको छ।
भौगोलिक रूपमा विकट प्रदेश मानिने कर्णालीमा यसपटक अपेक्षाकृत उत्साहजनक मतदान भएको विश्लेषण गरिएको छ। विशेषगरी हिमाली जिल्लाहरू डोल्पा र हुम्लामा उच्च सहभागिता देखिनु अर्थपूर्ण मानिएको छ। केही मतदान केन्द्रमा अझै मतदान कार्य हुदै छ ।