कालीकाेट- कर्णाली प्रदेशका सबै मतदान केन्द्रमा मतदान अधिकृत सहित निर्वाचन सामाग्री र आवश्यक कर्मचारीहरू पुगेका छन्। फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दुर्गम तथा हिमाली जिल्लाका मतदान केन्द्र केन्द्रमा जनशक्ति र मतदान सामग्री पुर्याइएको हो।
निर्वाचन व्यवस्थापनलाई सहज बनाउन डोल्पाका २० र हुम्लाका ४ मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरमार्फत मतदान गराउने कर्मचारी तथा सामग्री ढुवानी गरिएको छ। डोल्पाको एक मतदान केन्द्रमा मंगलबार बिहानै हेलिकप्टरमार्फत सामग्री पुर्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले जानकारी दिनुभयो।
कर्णाली प्रदेशमा प्रतिनिधि सभा सदस्यका लागि १२ सिटमा १३१ उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये १२० पुरुष र ११ महिला उम्मेदवार रहेका छन्। प्रदेशभर कुल १० लाख ३२ हजार २५० मतदाता रहेका छन्, जसमा ५ लाख २७ हजार ५८८ पुरुष, ५ लाख ४ हजार ६६२ महिला र ३ जना अन्य मतदाता छन्।
प्रदेशभर १४९ मतदान स्थल र १ हजार ३७६ मतदान केन्द्र तोकिएका छन्। दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा समयमै मतदान सम्पन्न गराउन सुरक्षा निकाय र सम्बन्धित कार्यालयहरूकाे समन्वयमा काम भइरहेकाे छ।