दैलेख,२३ कार्तिक । कालीकोटबाट अक्सिजन सपोर्टमा बिरामी लिएर सुर्खेततर्फ जाँदै गर्दा कर्णाली राजमार्गमा दुर्घटनामा परेको बोलेरो जिपका एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते हुनुभएका कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ का ४१ वर्षीय रने सार्कीको उपचारको क्रममा मृत्यु भएकाे दैलेख प्रहरीले जनाए छ ।
आज बिहान करिब ५:३० बजे दैलेखको गुराँस गाउँपालिका–१, काफलतोलीस्थित कर्णाली राजमार्गबाट क.प्र.०२–००१ च १२१५ नम्बरको बोलेरो अनियन्त्रित भई करिब दुई सय मिटर तल भीरमा खसेको थियो। जिपमा विषादी सेवन गरी अवस्था गम्भीर भएकी सान्नीत्रिवेणी–६ की २७ वर्षीया कैसि सार्कीलाई अक्सिजनसहित थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लैजाँदै गर्दा दुर्घटना भएको थियो।
दुर्घटनामा परी जिप चालक कालीकोट सान्नीत्रिवेणी–७ का २२ वर्षीय योगेश सिंखडा गम्भीर घाइते हुनुभएको छ। उहाँको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। यस्तै सोही ठाउँका १८ वर्षीय गङ्ग शार्की, २१ वर्षीय तपेन्द्र सिंखडा, ३६ वर्षीया जादुकाल सार्की र बिरामी कैसि सार्की गरी ५ जना घाइतेहरूको हाल प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
घटनालगत्तै प्रहरी चौकी तल्लोडुङ्गेश्वरबाट प्रहरी सहायक निरीक्षक ललित रावलको कमान्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा भीरबाट घाइतेहरूको उद्धार गरी सुर्खेत पठाएको थियो। मृतक सार्कीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।