Loading

सीसी क्यामरा सहितको मतगणनास्थल तयार, चार वटा टिमले मतगणना गर्ने तयारी

सीसी क्यामरा सहितको मतगणनास्थल तयार, चार वटा टिमले मतगणना गर्ने तयारी

कालीकाेट- मुख्य निर्वाचन अधिकृतको कार्यालयले सीसी क्यामरा जडानसहितको मतगणनास्थल तयार पारेको छ। कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई मतदानस्थलमा खटाइसकेपछि सदरमुकाम मान्ममा मतगणनास्थलको तयारी पूरा गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिकाे हलमा मतगणना स्थल व्यवस्थापन गरेको छ। चार वटा टिमले मत गणना गर्ने गरी मतगणनाका लागि हललाई तारजालीले चार खण्डमा विभाजन गरिएको सहायक निर्वाचन अधिकृत सुनिल कुमार खाणले बताउनु भयाे। तारजालीको पार्टेसनमा कर्मचारी आवतजावतका लागि ढोका बनाइएको छ। साथै गणनास्थलमा सीसी क्यामरा जडान गरिएको छ।

जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले मतगणनास्थलको सुरक्षालाई ध्यानमा राख्दै सीसी क्यामरा जडान गर्नुका साथै तारजालीले घेराबार समेत गरिएको बताउनुभयो। उम्मेदवार र उनीहरूका प्रतिनिधिलाई तारजाली बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।

फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। सोही दिन साँझदेखि मतपेटिका मतगणनास्थलमा ल्याउन तयारी गरिएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा ८४ हजार ६ सय ४६ मतदाता रहेका छन्। यहाँ आठ राजनीतिक दल र दुई स्वतन्त्र गरी १० जना उम्मेदवार चुनावी मैदानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार