काठमाडौँ, असाेज १६ गते । निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक ग्लोबल आइएमई बैंक लिमिटेडको २० औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। स्वीकृत लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।
सभामा सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरिएको छ। बैंकले समीक्षा अवधिमा ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ भने सभाबाट पारित ४ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ कायम भएको छ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले शेयरधनीहरूको अटूट विश्वास र निरन्तर साथप्रति आभार व्यक्त गरे। उनले ग्राहक, शेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूको सहकार्यकै कारण बैंकले स्थापनाको गौरवमय दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए। नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनहरूको पूर्ण परिपालना गर्दै बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गरिने प्रतिबद्धता जनाउँदै अध्यक्ष ढकालले आगामी दिनमा ग्राहकलाई अझ सहज र अत्याधुनिक सेवा प्रवाह गर्न डिजिटल बैंकिङ प्रणालीमा थप लगानी विस्तार गरिने जानकारी दिए।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ। साधारण सभामा नियमनकारी निकायका प्रतिनिधिहरू, शेयरधनी, संस्थागत लगानीकर्ता र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले विपद् व्यवस्थापनमा पनि उल्लेखनीय योगदान पुर्याएको छ। हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको तत्काल राहत र उद्धारका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व तथा कर्मचारीहरूको एक दिनको तलब बराबरको रकमसहित कुल ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।
देशका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी वाणिज्य बैंक बनेको ग्लोबल आइएमईले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ। अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, खाडी मुलुकहरू तथा भारतलगायतबाट वैधानिक माध्यममार्फत मुलुकमा रेमिट्यान्स भित्र्याउन बैंकले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ। बैंकले अन्तर्राष्ट्रिय स्तरका ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ सहित युरोमनी अवार्ड फर एक्सलेन्सजस्ता प्रतिष्ठित सम्मान प्राप्त गरिसकेको छ।