बुकाभु (कङ्गो) असाेज ११ गते । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको किभु तालमा शनिबार राति व्यापारीहरू बोकेको एउटा डुङ्गा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु बेपत्ता भएका छन्।
दुर्घटनास्थल नजिकै रहेको किशेके गाउँका प्रमुख फेलिक्स हाबिरागीका अनुसार साउथ किभु प्रान्तस्थित इड्ज्वी टापु नजिक उक्त डुङ्गा पल्टिएको हो। ५० भन्दा बढी व्यक्ति सवार डुङ्गा दुर्घटनामा परेपछि हालसम्म करिब १५ जनाको सकुशल उद्धार गरिएको छ। बाँकी यात्रुहरूको तालमा खोजी कार्य जारी छ।
स्थानीय प्रशासक मुहिन्डो नताम्बुका पास्कलका अनुसार उक्त डुङ्गाले इड्ज्वी टापुको बुविनाबाट बोजातर्फ माछा व्यापारी तथा तिनका सामान ओसारपसार गरिरहेको थियो। दुर्घटनाको स्पष्ट कारण भने तत्काल खुल्न सकेको छैन।
भौगोलिक कठिनाइ र सडक सञ्जालको अभावका कारण १० करोडभन्दा बढी जनसङ्ख्या भएको कङ्गोमा नदी तथा तालहरू नै आवागमनका मुख्य माध्यम हुन्। क्षमताभन्दा बढी भार र सुरक्षा मापदण्डको कमजोरीका कारण यहाँ बारम्बार यस्ता घातक डुङ्गा दुर्घटनाहरू हुने गर्दछन्।