Loading

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क प्रस्थान गर्दै

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, असोज ६ गते । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (मङ्गलवार) संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दै हुनुहुन्छ।

प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) महासभाको आम बहसलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। न्युयोर्क बसाइका क्रममा उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसलगायत विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ।

प्रधानमन्त्रीको टोलीमा प्रधानमन्त्रीका मुख्य सल्लाहाकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सहभागी हुनुहुन्छ। यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली विभिन्न मन्त्रीस्तरीय बैठक र साइड इभेन्टहरूमा सहभागी हुन असोज ४ गते नै न्युयोर्क प्रस्थान गरिसकेको छ।

यसपटकको सम्बोधनमा नेपालले जलवायु परिवर्तनको बढ्दो जोखिम र यसले हिमाली क्षेत्रमा पारेको गम्भीर असरलाई प्रमुखताका साथ उठाउनेछ। विशेष गरी गत भदौ १० गते (अगस्ट २६) रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले पुर्‍याएको ठूलो जनधनको क्षतिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले विश्व समुदायको ध्यानाकर्षण गराउनुहुनेछ।

नेपालको नगण्य कार्बन उत्सर्जनका बाबजुद जलवायु परिवर्तनका कारण भोग्नुपरेको नोक्सानी र त्यसबापत पाउनुपर्ने क्षतिपूर्तिको विषयलाई संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने सरकारको तयारी छ। प्रधानमन्त्री शाह असोज १० गते (सेप्टेम्बर २६) स्वदेश फर्कनुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार