काठमाडौँ भाद्र २९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गर्दै उहाँले सरकारसँग भएको तथा दातृ निकायहरूले उपलब्ध गराएको स्रोत-साधनको पूर्ण प्रयोग गरिने बताउनुभयो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले विपद्का बेला सङ्घ, प्रदेश र स्थानीय तहबीच तत्कालै राम्रो समन्वय भएकोमा खुसी व्यक्त गर्नुभयो। यसअघि तीन तहका सरकारबीच समन्वय हुँदैन भन्ने सुनिने गरे तापनि यस विपद्मा सबै सरकार एकै ठाउँमा उभिएर सहकार्य गरेको उहाँले उल्लेख गर्नुभयो।
सरकारले प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनःस्थापना गर्ने गरी काम गरिरहेको उहाँले जानकारी गराउनुभयो। सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावित नागरिकहरूलाई पूर्ववत् अवस्थामा फर्कन सहज हुने उहाँको विश्वास थियो।
यसैगरी, बाढीबाट प्रभावित नदी तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नहुने प्रधानमन्त्री शाहले स्पष्ट पार्नुभयो। सरकारले प्रभावित क्षेत्र नजिकैको सुरक्षित स्थानमा वैज्ञानिक बस्ती बसाउने तयारी सुरु गरेको बताउँदै उहाँले त्यसका लागि उपयुक्त जग्गा पहिचान गरी सङ्घ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो। नयाँ बस्ती बसाउँदा प्रभावितहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिइने उहाँले बताउनुभयो।