कालीकाेट,भाद्र २९ गते । भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज र राष्ट्रिय बाल अधिकार दिवस आज एकैसाथ परेका छन्। एकातिर रातो पहिरन, गीत-संगीत र उपवासको उल्लास छ भने अर्कोतिर देशको भविष्य मानिएका बालबालिकाको अधिकार, सुरक्षा र सम्मानको राष्ट्रिय बहस चलिरहेको छ। संयोगले जुरेको यो दोहोरो अवसर केवल औपचारिकतामा सिमित हुने उत्सव मात्र नभई नेपाली समाज, विशेषगरी कर्णालीको धरातलमा महिला र बालबालिकाको अवस्थामाथि गहिरो विमर्श गर्ने ऐतिहासिक क्षण बनेको छ।
पौराणिक इतिहासको पाना पल्टाउँदा तीजको सुरुआत कुनै परम्परागत बन्धनबाट नभई स्वतन्त्रता र विद्रोहको जगबाट भएको स्पष्ट हुन्छ। संस्कृतका ‘हरित’ अर्थात् हरण गरिएकी र ‘आलिका’ अर्थात् सखीहरू मिलेर बनेको यो शब्दले एउटा साहसिक कथा बोकेको छ। हिमालय पर्वतले छोरी पार्वतीको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिने निर्णय गरेपछि सखीहरूले पार्वतीलाई हरण गरेर घना जंगलमा लुकाएका थिए। त्यही एकान्त जंगलमा आफ्नो अभीष्ट प्राप्तिका लागि पार्वतीले कठोर साधना गरिन् र अन्ततः आफूले रोजेको जीवनसाथी भगवान् शिवलाई प्राप्त गरिन्। यसरी हेर्दा तीजको पहिलो सन्देश नै आफ्नो जीवनको निर्णय आफैं गर्न पाउने अधिकार र स्वेच्छाचारी सामाजिक निर्णयविरुद्धको पहिलो महिला विद्रोह थियो।
समयक्रमसँगै समाज जब कठोर पितृसत्तात्मक संरचनामा बाँधिँदै गयो, तब तीजको स्वरूप महिलाहरूको पीडा पोख्ने साझा चौतारीका रूपमा विकास भयो। बालविवाह, बहुविवाह र पारिवारिक खटनपटनको भारी बोकेर वर्षभरि चुलो-चौकोमा पिल्सिएका महिलाहरूका लागि माइतीको आँगन स्वर्गसमान हुन्थ्यो। वर्षको एक दिन माइती पुगेर आमा-दिदीबहिनीसँग घाँस-दाउरा गर्दाका दुःख, सासू-ससुराको कठोर व्यवहार र पारिवारिक विभेदलाई मादलको तालमा गीत बनाएर गाउँदा उनीहरूले मानसिक मुक्ति पाउँथे। त्यो समयमा तीज आँसुको विसर्जन, आत्मीय भेटघाट र मानसिक हलुकापन प्राप्त गर्ने सशक्त लोक-माध्यम बनेको थियो।
तर समय बदलिँदै जाँदा तीजको त्यो मौलिक, आत्मीय र विद्रोही मर्म विस्तारै बजारवादको चंगुलमा फस्न पुगेको छ। आजको वर्तमानमा तीज भड्किलो प्रदर्शन, महँगा कपडा, गहनाको होडबाजी र महिना दिनअगाडिदेखिका पार्टीहरूमा सीमित हुन थालेको छ। सामाजिक सञ्जालमा देखिने देखावटी प्रतिस्पर्धाले मध्यम र विपन्न वर्गका महिलाहरूमाथि अनावश्यक आर्थिक तथा मानसिक दबाब थपेको छ भने मौलिक लोकभाकाको ठाउँ द्वि-अर्थी र उच्छृंखल गीतहरूले ओगटेका छन्। काठमाडौं र अन्य ठूला सहरहरूमा तीजको नाममा करोडौँको फजुलखर्च भइरहँदा कर्णालीका विकट बस्तीहरूमा भने आज पनि महिलाहरू पाठेघर खस्ने समस्या, कुपोषण, रक्तअल्पता र छाउपडीको पीडाबीच निराहार व्रत बस्न बाध्य छन्, जसले समाजको गहिरो वर्गीय खाडललाई छर्लङ्ग पार्छ।
यही दिन परेको बाल अधिकार दिवसले तीजको सार्थकतालाई अझ गम्भीर बनाएको छ, किनकि पौराणिक कथाकी पार्वतीको बाल्यकालीन विवाहको प्रयास र आजको बालअधिकारको बहस आपसमा सिधा जोडिन्छन्। नेपालले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई अनुमोदन गरेको सम्झनामा मनाइने यो दिवस कर्णालीका लागि अझ बढी सान्दर्भिक छ। कर्णालीका दुर्गम गाउँहरूमा आज पनि कानुनले तोकेको उमेर नपुग्दै ५० प्रतिशतभन्दा बढी बालबालिकाको विवाह हुने गरेको तीतो यथार्थ छ। बालविवाहका कारण किशोरीहरूको पढाइ बीचमै रोकिने, कलिलै उमेरमा आमा बन्ने र पुड्कोपन तथा कुपोषणजस्ता गम्भीर स्वास्थ्य संकटले आमा र शिशु दुवैको भविष्य अन्धकार बनाइरहेको छ।
यस्तो अवस्थामा अबको तीज कस्तो हुनुपर्छ र यसले कस्तो भविष्य निर्माण गर्नुपर्छ भन्ने प्रश्न मुख्य बनेको छ। भविष्यको तीज अन्धविश्वासमा आधारित भएर आफ्नो शरीरलाई कष्ट दिने र पतिको दीर्घायुको एकपक्षीय कामना गर्ने माध्यममा सीमित हुनु हुँदैन। यसलाई स्वास्थ्यमैत्री, आपसी सम्मान, लैंगिक समानता र आत्मीय पारिवारिक जमघटको दिन बनाइनुपर्छ। तीजका भाकाहरू केवल व्यक्तिगत विरह वा सस्तो मनोरञ्जनमा सीमित नभई बालविवाह, महिला हिंसा, छाउपडी र भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने सशक्त चेतनामा रूपान्तरण हुनुपर्छ।
निष्कर्षमा, छोरीलाई दाइजो र चाँडो बिहे गरिदिने भार नठानी गुणस्तरीय शिक्षा, स्वास्थ्य र आत्मनिर्भर बन्ने अवसर दिनु नै पौराणिक कालकी पार्वतीको विद्रोह र बालअधिकार दिवसको वास्तविक सम्मान हो। जबसम्म कर्णालीका कुपोषणग्रस्त बालबालिका र विभेदमा परेका महिलाहरूको जीवनमा उज्यालो आउँदैन, तबसम्म तीजको वास्तविक उल्लास अधुरो रहनेछ। त्यसैले, आजको यस विशेष दिनलाई देखावटी तडकभडक त्यागेर महिला सशक्तीकरण र बालबालिकाको अधिकार सुनिश्चित गर्ने साझा सामाजिक संकल्पका रूपमा स्थापित गर्नु नै वर्तमानको प्राथमिक आवश्यकता हो।